स्थानीय निर्वाचन : ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिन्ह पाउने
काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनमा ६ वटा राजनीतिक दलका उम्मेदवारीले मात्रै आफ्नो दलको चुनाव चिन्ह पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका अन्य राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिन्ह प्रदान गर्ने जनाएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था छ । जहाँ प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जितेका दलहरुलाई मात्रै राष्ट्रिय दलको मान्यता पाउने उल्लेख छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा राष्ट्रिय दलका उम्मेदवारलाई मात्र दलीय निर्वाचन चिन्ह दिइने व्यवस्था छ । राष्ट्रिय मान्यता पाएका दलहरुमा नेकपा एमाले (सूर्य), नेपाली कांग्रेस (रुख) नेकपा माओवादी केन्द्र (गोलाकारभित्रको हँसिया हथौडा), नेकपा एकीकृत समाजवादी (कलम), जनता समाजवादी पार्टी (छाता) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (साइकल) रहेका छन् ।
