भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा परेन एमसीसी
काठमाडौँ । बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता टेबुल गर्ने सम्बन्धी विषय समावेश भएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने उल्लेख गरिएको छ । सँगै कार्यसूचीमा तीनवटा शोक प्रस्ताव प्रस्तुत हुने उल्लेख छ । बुधबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबार सार्वजनिक गरेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहानका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। प्रतिनिधिसभाको बैठक बस्नु अघि बैठकको कार्यसूचीमाथि छलफल गर्न सभामुख सापकोटाले बैठक आह्वान गरेका हुन् । बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने भएको हो ।
