कांग्रेस मकवानपुरको सभापति पदमा प्रभात दाहालको उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १३ गतेको लागि तय भएको अधिवेशनमा नेता प्रभातकुमार दाहालले पनि सभापति पदमा उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्रीसमेत रहेका दाहालले समग्र कांग्रेसको हितका लागि एक पटक सभापति भएर काम गर्न आफु इच्छुक रहेको बताउँदै सभापति पदमा उम्मेदवारी दिने बताए ।
तु खबरसँग कुराकानी गर्दै दाहालले भने, ‘ आसन्न अधिवेशनमा मेरो उम्मेदवारी रहनेछ । समग्र कांग्रेसजन र आम मकवानपुरवासीको हितका लागि मैले उम्मेदवारी दिन लागेको हुँ । यहाँहरु सबैको साथ सहयोगको अपेक्षा गरेको छु । सबैलाई समेटेर, सबैको भावनाको सम्मान गरेर अघि बढ्नेछु । स्वर्गीय विपिको सिद्धान्तलाई अनुसरण गरेर अघि बढ्नेछु ।’
दाहालको उम्मेदवारीसँगै कांग्रेस मकवानपुरको राजनीतिले नयाँ मोड लिएको छ । यसअघि कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछानेले उम्मेदवारी घोषणा गरी चुनावी अभियानलाई अघि बढाइसकेका छन् । त्यस्तै हालका कार्यबाहक सभापति विष्णु लामिछानेले पनि सभापति पदमा दावी गरेका छन् । उनले आफ्नो नेतृत्वमा सबैलाई समेटेर सहमतिबाटै अघि बढ्ने बताएका छन् ।
दाहाल अघिल्लो महाधिवेशनमा पनि मकवानपुर सभापति पदमा उम्मेदवार थिए । झिनो मतले पाराजित भएका उनले यसअघि आफुलाई विश्वास गरेर मत दिने मतदाताको सम्मान गर्दै आम मकवानपुरवासीको हितका लागि उम्मेदवारी दिन लागेको बताए ।
