लुटपाटमा संलग्न दुई भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन १, आईतवार १०:१८
सांकेतिक तस्बिर

बाँके । बाँके प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको जानकी गाउँपालिका–५ बुढियागाउँबाट शनिबार १ थान कटुवा पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् ।

बर्दिया बढैयाताल गाउँपालिका–८ सितबजार बस्ने पर्शुराम सार्कीको घरमा गत पुस २९ गते राति पेस्तोल देखाई करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटपाट भएको तथा माघ १७ गते बाँके खजुरा गाउँपालिका डि गाउँ बस्ने हरी प्रकास बिकको घरबाट नगद ५० हजार रुपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल चोरी भएको घटनामा संलग्न उनीहरुलाई ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै चोरी भएको उक्त मोटरसाइकल माघ १८ गते बर्दिया बढैयाताल गाउँपालिका–५ बढैयाताल नजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको थियो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।