धनुषामा थन्काएर राखिएको रेल आदेखि कुदाइँदै
धनुषा । स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन गरिने भएको छ । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । नेपाल रेल्वे कम्पनीका अनुसार रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना भने छैन । आज बिहान १० बजेपछि इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था पुगेर पुनः जयनगर फर्किने जनाइएको छ । कम्पनीले १० दिनसम्म रेल यसैगरी चलाउने जनाएको छ ।
१८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा थन्केकाले प्राविधिक स्थिति बुझ्नका लागि रेल गुडाउन लागिएको जनाइएको छ । प्राविधिक स्थिति बुझेर केही समस्या आएको भए त्यसलाई मर्मत गरिने कम्पनीको भनाई छ । यात्रुलाई बोक्नुअघि रेल दुरुस्त अवस्थामा राख्नकै लागि परीक्षण स्वरुप रेल गुडाउन लागिएको उनले बताए । यसबाहेक अतिक्रमण गरिएका रेल मार्गहरू छाड्न, अनाधिकृत बाटो बन्द गर्न, हाट लगाउन बन्द गर्नका लागि चेतना जगाउन, कर्मचारीलाई अभ्यस्त बनाउने उद्देश्यले पनि रेल गुडाउन लागिएको हो ।
२ असोज २०७७ मा भारतबाट खरिद गरेर ल्याएको नेपाली रेल धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको छ । थन्किएको रेल फागुनको दोस्रो साता विधिवत रुपमा उद्घाटन गर्ने तयारी भएको छ । यस सम्बन्धमा छलफल चलिरहेको र नेपाल तथा भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमले रेलको उद्घाटन गर्ने महाप्रबन्धक झाले बताए ।
