संरक्षण अभावका कारण नेपालकै पहिलो रेलवे खण्डहर बन्दै (फोटो फिचर)
बारा । तत्कालीन श्री ३ चन्द्र शमशेर जबराको पालामा विक्रम संवम् १९८३ मा बारा जिल्लाको अमलेखगञ्जदेखि भारतको रक्सौलसम्म संचालन हुने गरी सुरु भएको नेपालकै पहिलो रेल सेवा अहिले खण्डहर बनेको छ । रेलवे सेवाको लागि स्थापना गरिएको टिकट घर जिर्ण अवस्थामा पुगेको छ भने रेलवेको जग्गामा निजी घरहरु बनेका छन् ।


सो रेलमार्गको लिकमाथि सडक तथा निजी घरहरु निर्माण गरिएको छ । जसका कारण लिकसमेत हराइसकेको छ । ३९ बर्षसम्म निरन्तर संचालनमा आएको सो रेल सेवा २०२२ सालमा बन्द हुन पुग्यो । रेल संचालनको अवधिमा भारतबाट सामान आयात गर्न र नेपालको सामान निर्यातमा निकै सहज र सुलभ हुने गरेको थियो । रेल सेवा बन्द भएको अहिले ५६ बर्ष बितिसकेको छ ।


रेलको लिकमाथि ठूलो बस्ती निर्माण भइसकेको कारण रेल सेवा पुनः संचालनमा ल्याउन बस्ती विस्थापित गर्नुपर्ने देखिन्छ । सो क्षेत्रमा भू–स्वामित्वको ठूलो विवाद देखिएको कारण रेल सेवा पुनः संचालनमा आउने संभावना नरहेको जानकारहरु बताउँछन् । तत्कालीन समयमा ‘नेपाल गभर्मेन्ट रेलवे’ (एनजीआर) को नामबाट सञ्चालनमा रहेको अमलेखगञ्ज–रक्सौल रेल सेवाको अस्तित्वनै धरापमा परेको छ । अमलेखगञ्जमा निर्माण भएका संरचनाहरू अहिले जीर्ण हुँदै गएका छन् । रेल सेवाका टिकट घरबाहेक अन्य संरचना अहिले मासिएको छ । २५ मिटर सडक क्षेत्रमा परेपछि रेलवेको गोदाम घरको आधा भाग पनि भत्काइएको छ भने आधा भागमा व्यापारिक सटर निर्माण गर्ने कार्य भइरहेको छ ।


अमलेखगञ्जबाट रक्सौलसम्म कुल ७२ बिघा र रेलवेको टिकट घर, क्वाटरको भौतिक संरचना निर्माण भएको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित सो रेलवेको प्रशासनिक भवनले करिब २२ बिघा क्षेत्रफल ओगटेको छ । रेलवेको अधिकांश क्षेत्रमा हाल बस्ती बसेको छ । रेलमा पानी भर्ने र इञ्जिन घुमाउने स्थानमा अहिले गुम्बा निर्माण गरिएको छ भने टिकट काउन्टर रहेको भवनमा स्थानीयवासीले सिलाई बुनाईका स्टल तथा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

पछिल्लो पुस्तालाई अध्ययन र अनुसन्धानका लागि महत्त्वपूर्ण रहेको सो रेलवेको क्वाटरहरुमा स्थानीयहरूले निजी घर निर्माण गरेका छन् । स्थानीय तह, प्रदेश सरकारको बेवास्ताका कारण ती संरचनाको अस्तित्व लगभग समाप्त हुने अवस्थामा पुगेको हो । सो रेलवेको लिक २ फिट ६ इन्च (७६२ मि.मि.) छ भने ४७ किमी लामो थियो । बाफबाट चल्ने इन्जिन भएको उक्त रेल सेवाको नेपालमा अन्तिम बिन्दु (स्टेशन) अम्लेखगञ्जमा थियो ।


