बारामा शंकास्पद वस्तु पड्किँदा एक जनाको मृत्यु
बारा । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्कसपका संचालक निजगढ नगरपालिका–९ बस्ने रेसम मगर रहेका छन् ।
मगरले संचालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला अचानक बमजस्तै देखिने वस्तु विस्फोट भएको थियो । उक्त वस्तु विस्फोट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त वस्तु विस्फोट हुँदा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत र निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेका छन् ।
घाइते सबैलाई निजगढ नगरपालिका–९ स्थित निजगढ सामुदायिक अस्पतालमा लगिएको थियो । तीमध्ये हाल तीन जनालाई थप उपचारका निम्ति वीरगन्ज रिफर गरिएको छ भने एक जनाको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रहरीका अनुसार विस्फोट भएको वस्तु हेर्दा बमजस्तै देखिएको भएपनि पुष्टि भएको छैन । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।