निषेधाज्ञा खुलेलगत्तै रेल चल्ने
काठमाडौं । नेपालमा जारी निषेधाज्ञा खुलेलगत्तै रेल संचालनमा आउने भएको छ ।
कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको तर जार िनिषेधाज्ञाका कारण समस्या परेको जनाएको छ ।
‘व्यवस्थापनदेखि रेलवे अध्यादेशसमेत ल्याइसकेका छौं, नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने ।
‘निषेधाज्ञाका कारण सञ्चालन गर्न पाइएको छैन । निषेधाज्ञा खुलेलगत्तै रेल संचालनमा आउछ ।’ उनले भने ।
मन्त्रालयले भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेलाई एक वर्षका लागि करिब ३५ करोड रुपैयाँमा रेल चलाउने जिम्मा दिएको छ ।
कम्पनीले २६ मुख्य प्राविधिक ल्याएर एक वर्षसम्म सञ्चालन गर्ने जनाइएको छ ।
नेपाल जनकपुरदेखि भारत जयनगरसम्म सञ्चालनका लागि आठ महिनाअघि ल्याइएको रेल त्रिपालले छोपेर राखिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
