मधेश प्रदेशमा आज सार्वजनिक विदा
जनकपुरधाम । मधेश प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते अर्थात आज सार्वजनिक विदा दिने घोषणा गरेको हो । शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् ।
मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा जनयुद्ध दिवस मनाउन लागेको हो । यसअघि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो । जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाइएको छ ।
कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरिने छ । प्रदेशका प्रत्येक जिल्लाबाट पाँचपाँच जना गरी ४० जनालाई एक लाखका दरले आर्थिक सहयोगसहित सम्मान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
