सबैको सहमति जुटाएर कांग्रेस मकवानपुरको सभापति हुन्छु – लामिछाने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले आसन्न फागुन १३ गते हुने अधिवेशनमा आफ्नो उम्मेदवारी सभापति पदमा रहने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका लामिछानेले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने र त्यसका लागि बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालगायत जिल्लाका विभिन्न तहका नेताहरुले पहल गरिरहेको समेत बताए ।
‘स्थानीय तहको निर्वाचन नजिकिँदै छ । हामी पार्टीका सबैलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छौँ । त्यसमा अभिभावकको रुपमा बागमती प्रदेश सभापति, केन्द्रीय सह–महामन्त्री र जिल्लास्तरका मेरा आदरणीय नेताहरु लागिरहनुभएको छ । अब, सहमति जुट्न नसके हामी प्रजातन्त्रमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौँ । स्वच्छ र निश्पक्ष ढंगबाट अधिवेशन सम्पन्न गर्छौँ ।’ उनले भने ।
आफु उपसभापति र कार्यबाहक सभापतिसमेत भइसकेकोले एक पटक सभापति भएर काम गर्न इच्छुक रहेको बताउँदै आफ्नो विषयमा लगभग सहमति जुट्नेमा विश्वस्त रहेको उनले बताए । ‘मेरो नेतृत्वमा सहमतिको वातावरण बन्ने लगभग निश्चित छ । अन्य साथीहरुलाई पनि समेट्दै उहाँहरुको मतको पनि सम्मान गर्दै र अवसर प्रदान गर्दै हामी अघि बढ्नेछौँ । स्थानीय निर्वाचनमा मकवानपुरलाई कांग्रेसमय बनाउने छौँ ।’ उनले भने ।
यसअघि मकवानपुर सभापतिका लागि जिल्ला सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा नगर सभापति आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछानेले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
