निर्वाचन आयोग : मतदाता नामावली संकलन आजदेखि स्थगित

तु खबर संवाददाता
२०७८ माघ २५, मंगलवार ०८:५४

काठमाडौं । स्थानीय निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मिति तयसँगै आयोगले आज (मंगलबार) बाट लागू हुने गरी मतदाता नामावली संकलनको काम स्थगित गरेको हो ।

आयोगका प्रवक्ता शालिकराम शर्माले निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको जानकारी दिए । आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य स्थगित गरेको हो । हालसम्म देशभर १ करोड ९० लाखले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।