बालुवाटारमा देउवा, प्रचण्ड र ओलीबीच बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते लावालस्करसहित बालुवाटार छाडेका पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली पनि आइतबार बालुवाटार पुगेका छन् ।
यसबीचमा देउवाले दुई पटक बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए । ती दुबै बैठक सबै दलका प्रमुखहरूलाई बोलाइएको भए पनि एमाले अध्यक्षसमेत रहेका ओली आफू पनि गएनन्, पार्टीको तर्फबाट कोही प्रतिनिधिलाई पनि पठाएनन् । एमाले संसदमा निरन्तर अवरोध गरिरहने र सर्वदलीय बैठकको छलफलमा पनि सहभागी नहुने भएपछि प्रधानमन्त्री देउवाले ओलीसँग एक्लै कुराकानी गरेका थिए । पुस २४ गते देउवा आफैं ओली निवास बालकोट पुगेका थिए । देउवा बालकोट पुगेको एक महिनापछि ओली आज बालुवाटार आउन राजी भएका हुन् । समसामियक विषयमा छलफल गर्न भनेर देउवाले ओली र प्रचण्डलाई बालुवाटार बोलाएका हुन् ।
