बागमती सरकारको योजना: सार्वजनिक सवारी साधनमा डिजिटल रुपमा भाडा भुक्तानीको प्रबन्ध मिलाइने
मकवानपुर । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकार गठन भएको पहिलो सय दिनको काम तथा उपलब्धि आज सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशभर अब सार्वजनिक सवारी साधनमा यात्रुले डिजिटल प्रणालीबाट भाडा भुक्तानी गर्न सक्ने प्रबन्ध मिलाइने बताए ।
उनले सार्वजनिक सवारीमा भाडा डिजिटल रुपमा भुक्तानी गर्ने प्रणाली कार्यान्वयनको लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए । ‘भाडा डिजिटल रुपमा तिर्ने व्यवस्था मिलाइयो भने, तोकिएको भन्दा बढी भाडा लिने कार्य बन्द हुन्छ । हामीकहाँ २६ रुपैयाँ भाडा तोकिएको छ भने यात्रुले २५ दिँदा मान्दैनन् तर, ३० रुपैयाँ दियो भने ४ रुपैयाँ छैन भन्दै फिर्ता दिँदैनन् । डिजिटल प्रणालीमा यात्रु ठगिने संभावना हुँदैन ।’ उनले भने ।
त्यस्तै मुख्यमन्त्री पाण्डेले सरकारले युवा वैज्ञानिक कोष मार्फत् नवप्रर्वधनको क्षेत्रमा कार्य गर्ने युवा वैज्ञानिकहरूलाई प्रोत्साहन स्वरूप प्रदान गरिने अनुदानको लागि प्राप्त प्रस्तावहरू मूल्याङ्कनको क्रममा रहेको पनि जानकारी दिए । यो अवधिमा जनशक्ति व्यवस्थापन र कर्मचारीको अभिलेख व्यवस्थापन गर्न प्रदेश किताबखाना स्थापना तथा कार्यसञ्चालन आदेश, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, बहुवर्षीय आयोजनाको छनौट तथा ठेक्का सम्बन्धी कार्यलाई व्यवस्थित बनाउन बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको ,कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रूपान्तरण मार्गचित्र, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि पाण्डेले बताए ।
त्यस्तै प्रदेशभित्रका ११९ स्थानीय तहबाट एक जनाको दरले दलित, अल्पसंख्यक, लोपोन्मुख र सिमान्तकृत जातिका विद्यार्थीलाई उच्च माध्यमिक तहको प्राविधिक विषय र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने महिलालाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी शैक्षिक छात्रवृत्ति निर्देशिका, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताए । सञ्चार क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउन प्रदेश सञ्चार माध्यम व्यवस्थापन (तेस्रो संशोधन) नियमावली, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।
