मधेसमा हावाहुरी : ३ जनाको मृत्यु
धनुषा । मधेस प्रदेशमा हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । शुक्रबार आएको हावाहुरीका कारण रुख ढलेर किच्दा धनुषा र रौतहटमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका २ विद्यार्थी र रौतहटकी एक महिला रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द मावि परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको हो । हावा हुरीका कारण अचानक मसलाको रुख ढल्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, रौतहटको बौधीमाई नगरपालिका १ मा हावाहुरीका कारण इँटाको घर खस्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । मृतक फुलमतिया देवीको घरमा रहेका बाख्रा समेत मरेका छन् ।
