उपमेयर लामाको नेतृत्वमा निर्माणाधीन कृषि थोक बजारको अनुगमन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको नेतृत्वमा प्राविधिकसहितको टोलीले आज हेटौंडा ११ स्थित निर्माणाधीन कृषि थोक बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा उपमेयर लामाले कृषि थोक बजार निर्माणको कार्य तोकिएकै समयभित्र सम्पन्न गर्न निर्देशन दिएकी छिन् ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा उक्त थोक बजार निर्माण भइरहेको छ । कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माणाधीन उक्त थोक बजार निर्माणको काम करिब ३० प्रतिशत सम्पन्न भएको उपमेयर लामाले बताइन् ।
दुई विगाह ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण भइरहेको हो । कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा सो आयोजना अघि बढाइएको हो । थोक बजार स्थापना भइसकेपछि कृषि बजारहरुमा उपयुक्त भण्डारण, सित भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधाहरुको अपर्याप्तता र अभाव जस्ता समस्याको अन्त्य हुने जनाइएको छ ।
