हेटौंडामा सिटिनेटको राष्ट्रिय बैठक सम्पन्न
मकवानपुर । देशका १६ नगरपालिका र ६ वटा सस्था सम्मिलित सिटिनेट नेपालको राष्ट्रिय बैठक हेटौंडामा सम्पन्न भएको छ । हेटौंडामा बैठक आयोजना गरेसँगै हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा सस्थाको असोजको पहिलो साता हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने भएकी छिन् ।
असोजको पहिलो साता मेलेसियाको राजधानीमा सिटिनेटको निर्वाचनसँगै नेतृत्व परिवर्तन हुने कार्यतालिका रहेको बताइएको छ । क्रियाशिल रहेको मानब बस्ति व्यवस्थापनको लागि स्थानीय निकायहरुको क्षेत्रीय सञ्जाल र एशिया प्रान्तमा दिगो विकासको लागि प्रतिवद्ध शहरी सरोकारवालाको सबै भन्दा ठुलो सस्थाको आउँदो असोजको पहिलो साता हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन पुर्व स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुको बैठक हेटौंडामा बसेको हो ।
दुई दिन सञ्चालन भएको बैठकमा ४ महानगर, ३ उपमहानगर र ४ नगरपालिकाका प्रमुखहरु सहित प्रतिनिधी सहभागि थिए । सिटिनेटको नेपाल क्षेत्रको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकले संस्थालाई नेपालमा कृयाशिल बनाउँन सदस्यता बढाउँने सहित बिधानलाई समयानुकुल परिस्कृत गर्नका लागि तानसेन नगरपालिकालाई जिम्मेवारी दिएको छ ।
सस्थाको सचिब समेत रहेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठको नेतृत्वमा असोजमा मलेसियामा हुने अन्तराष्ट्रिय सम्मेलन पश्चात कार्य अघि बढाउँने र अर्को बैठक धनगढी नगरपालिकामा आयोजना हुने निर्णय गरेको छ । बैठकमा प्रमुख अतिथि रहेका ललितपुर महानगरपालिकाका प्रमुख तथा सिटिनेटका कार्यकारी सदस्य चिरबाबु महर्जन चुनावी प्रतिस्पर्धामा उत्रने घोषणा गरेका छन् ।
