वर्तमान सरकार संसद्को मर्यादा विपरित काम गर्न अग्रसर छ – शाक्य
मकवानपुर । बागमती प्रदेशको पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले वर्तमान सरकार संसद्को मर्यादा विपरित काम गर्न अग्रसर भएको टिप्पणी गरेकी छिन् । बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव सभारोहमा शुभकामना दिने क्रममा उनले बागमती सरकारले धान्नै नसकिने गरी मन्त्रिमण्डल विस्तार गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
मुख्यमन्त्री पाण्डेमा संसदीय मर्यादा र संस्कारको अभाव भएको शाक्यले आरोप लगाइन् । कोरोनाको महामारीको बेला जनताको जीउधनको रक्षा गर्न तत्पन हुनुपर्ने प्रदेश सरकार दलीय भागबण्डा मिलाउन व्यस्त छ, उनले भनिन् ।
शाक्यपछि मन्तव्य दिएका मुख्यमन्त्री पाण्डेले आफु लामो समय केन्द्रीय राजनीतिमा सक्रिय रहेको बताउँदै आफूलाई संसदीय मर्यादा र संस्कार नसिकाउन शाक्यलाई आग्रह गरे । ‘प्रमुख प्रतिपक्षी दलको नेताले अध्ययन गरेर बुझेर मात्रै बोल्नुपर्छ । अरुको लहडमा लागेर गलत कुराको प्रचार गर्न हुदैन, हामीले अहिलेसम्म कुनै योजना कटौती गरेका छैनौ।’ मुख्यमन्त्री पाण्डेले अहिलेसम्म आफू नेतृत्वको सरकारले एमालेले ल्याएको योजना र बजेट कटौती नगरेको भन्दै गलत कुराको प्रचार गरे गम्भीर दुर्घटना हुन सक्ने चेतावनी समेत दिए ।
मुख्यमन्त्री पाण्डेले प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठको भुमिका एउटा राजनीतिक दलको कार्यकर्ता जस्तो बनेको टिप्पणी गरेका थिए । सभामुखको भूमिका समन्वयकारी नभएको बरु प्रतिपक्षी दलको अनुकुलताको आधारमा सभामुख अघि बढेको उनले बताए । समापन समारोहलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले मुख्यमन्त्री पाण्डेलाई अहंकार त्याग्न आग्रह गरे । उनले सत्ता गठबन्धन मित्रै स्थानीय निर्वाचन र एमसीसीको विषयमा असमझदारी बढेको भन्दै मुख्यमन्त्रीको अहंकार धेरै दिन नटिक्नेसमेत बताए ।
