संघीयताको गरिमा बढाउन बागमती प्रदेशसभाको भूमिका महत्वपूर्ण: प्रदेश प्रमुख शर्मा

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १२:२४

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संघीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकसमक्ष यसको औचित्य, सान्दर्भीकता र गरिमालाई बढाउन बागमती प्रदेशसभाको भूमिका महत्वपूर्ण भएको बताएका छन् । आज हेटौंडामा प्रदेशसभाको चौथो वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभा स्थापनादेखि हालसम्म ६१ वटा विधेयक पारित हुनुको साथै थुप्रै महत्वपूर्ण निर्णयहरु भएको बताए ।

उनले प्रदेशको सामान्य प्रशासन, सुशासन र शान्ति सुरक्षालाई व्यवस्थित एवं विश्व्सनीय बनाउने जनशक्तीलाई क्लान्त मनस्थिती, कुण्ठीत इच्छाशक्ति र थकित खुट्टाहरु लिएर दण्डित भएको महसुस हुने गरी प्रदेश प्रशासनमा खटाइएको बताए । ‘उनीहरुको मानसिक स्थितीलाई जीवन्त बनाउन, कुण्ठीत इच्छाशक्तिलाई पुनर्सशक्तिकृत गर्न र थकित खुट्टाहरुलाई दृढ तथा सशक्त गराउन आवश्यक आधार तयार गर्ने जिम्मेवारी पनि यही प्रदेशसभाको नै हो । यसबाट मात्र नेपाली जनताले चाहेको संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, न्याय, समानता र मानव अधिकारको सुदृढिकरण हुनेछ । ’ उनले भने ।

उनले प्रदेश सभाले आगामी दिनहरुमा पनि आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गरी प्रदेशका महत्वपूर्ण विषयहरुमा विधि निर्माणगरी प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।उनले प्रदेशस्तरका जनताको जनजिविकाको सवालहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकारले नियमित छलफल गरी समुचित योजना तर्जुमा गर्नु अत्यावश्क रहेको बताए ।

उनले प्रदेश सरकारप्रति जनताको आकांक्षा र भरोसामा कुनै किसिमको कमी आउन दिन नहुने बताउँदै यस प्रकारका आकांक्षा र विश्वा सलाई व्यवहारमा मूर्त रुप दिनको लागि प्रदेश सरकारका नीति, कार्यक्रम बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रीत रहन प्रदेशसभा सधैं सचेत र क्रियाशिल हुन आवश्यक भएको उल्लेख गरे । कार्यक्रम सभामुख सानुकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।