बागमती प्रदेश सरकारद्वारा ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय
मकवानपुर । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होछार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा बागमती प्रदेश सरकारले माघ १९ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । वर्षेनी तामाङ समुदाय र चेपाङ समुदायले आफ्नो मुख्य चाडमा सार्वजनिक विदा मागिरहेको अवस्थामा प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
मन्त्रिपरिषद्को वैठकले प्रदेशको विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णयसमेत गरेको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । त्यसका लागि आवश्यक छलफल र तयारी अघि बढाइएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । मन्त्रिपरिषद्को वैठकले प्रदेश सरकारअन्तर्गत् सञ्चालन हुने वहुवर्षे ठेक्काको पनि मापदण्ड तय गर्ने निर्णय गरेको छ । यसैगरी प्रदेश किताब खाना समेत सञ्चालनमा ल्याउने निर्णय वैठकले गरेको छ ।
