मुख्यमन्त्री कार्यालय अगाडि थाल ठटाएर विरोध प्रदर्शन

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार १२:०६

मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि थाल ठटाएर विरोध प्रर्दशन गरेको छ ।  बागमती प्रदेशको वन ऐन २०७६ संशोधन गर्न माग गर्दै आन्दोलनरत उनीहरुले आज मुख्यमन्त्री कार्यालयअगाडि केहीबेर थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।

महासंघले देशव्यापी रुपमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयमा धर्ना दिएको थियो । बागमती प्रदेश सरकारले ऐनलाई संशोधन नगरेकोले आन्दोलन रुवरुप एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेको महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले बताए ।
महासंघले वन ऐनका ९४ दफामध्ये ८० वटाभन्दा धेरै दफा नेपालको संविधान र संघीय वन ऐन २०७६ संग बाझिएकाले ऐन संशोधन वा खारेज गरी नयाँ ऐन तर्जूमा गर्न माग गर्दै आएको छ ।