मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा थप दुई आदेश जारी
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) भरतमणि पाण्डेले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा न्यूनिकरणको लागि थप दुई आदेश जारी गरेका छन् । सिडियो पाण्डेले आइतबार जिल्ला भित्र रहेको विद्यालय र भिडभाड हुने स्थानहरु आगामी माघ मसान्तसम्म नखोल्न आदेश जारी गरेका हुन् ।
जारी आदेशमा विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा संचालन नगर्न र शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाउन भनिएको छ ।
यसैगरी, सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेलमैदान, फुटसल, पटके हाटबजार र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म संचालन नगर्न भनिएको छ । साथै सिडियो पोण्डेले खोप कार्यक्रम भने भिडभाड नगरी संचालन गर्न आदेश जारी गरेका छन् ।
