बागमती प्रदेश प्रमुख शर्माद्वारा सहिद दिवसको शुभकामना

तु खबर संवाददाता
२०७८ माघ १६, आईतवार ०८:२६
file-photo

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले  सहिद दिवस २०७८ को सन्दर्भमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षालगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्दाञ्जली व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले आज एक शुभकामना सन्देश जारी गर्दै निरङकुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने महान सहिदहरु शुक्रराजशास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको उल्लेख गरे ।

प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमा भनेका छन्, ‘आजको दिन सहिदहरुलाई सम्झिरहँदा देश र जनताको हितका निम्ति प्राप्त गरेका उपलब्धिहरु सहिदहरुको बलिदानबाट मात्र सम्भव भएको तथ्यलाई स्मरण गर्दै सहिदहरुको जीवन उत्सर्गले आलोकित मार्गमा हिड्नका लागि प्रेरित हुने र उहाँहरुको सपना साकार पार्न प्रण गर्ने दिनका रुपमा सम्झनुपर्दछ ।’ प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुती दिनुहुने वीर सहिदहरुलाई एक दिनमात्र सम्झिएर उनीहरुले देखाएको सपना साकार पार्न नसकिने बताउँदै सहिदहरुले गरेको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्नेमा जोड दिए ।

‘समावेशीता र संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात समृद्द नेपाल निर्माण गर्ने सहिदहरुको सपना पूरा गर्न, योजनाबद्द रुपमा देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्बन्धित सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । साथै शर्माले देशको इतिहासको विभिन्न कालखण्डमा भएका संघर्षहरु, राणा शासनको अन्त्य,पञ्चायती व्यवस्थाको अन्त्य र लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने आन्दोलनको अग्रपंतिमा रहेर लड्दालड्दै आफ्नो जीवन, देश र जनताको लागि समर्पण गर्नुहुने वीर सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै पुन उहाँहरुप्रतिहार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।