बागमतीसहित तीन प्रदेशका प्रदेश प्रमुखद्वारा शपथ ग्रहण
काठमाडौं । बागमतीसहित तीन प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उनीहरुले शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।
शपथ ग्रहण गर्ने प्रदेश प्रमुखहरुमा बागमतीका दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ती मगर र कर्णालीका यज्ञराज जोशी रहेका छन् ।
उनीहरुलाई राष्ट्रपति पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम पदेश प्रमुखमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि बागमतीका प्रदेश प्रमुखमा यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुखमा अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुखमा तिलक परियार थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले नियुक्ती गरेका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पदमुक्त गरेको हो ।
शपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो ।