काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हट्यो
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शुक्रबार उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी नयाँ आदेश जारी गरेका छन् । तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको छ । अन्य सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको भएपनि ट्याक्सीमा भने यो आदेश लागु नहुने जनाइएको छ ।
अझै पनि निजी सवारी साधन र ट्याक्सीले जोरबिजोर प्रणाली अनुसार चल्नुपर्नेछ। शुक्रबार नै सीसीएमसीसीले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो । बैठकले विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।
सबै प्रकारका आमसभा, सभा, भेला, मेलालगायतका बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आदेश गरिए पनि पूर्वनिर्धारित अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको हकमा भने दर्शकविहिन वा सीमित दर्शक राखी सञ्चालन गर्न सकिने छ । बैठकले व्यापार व्यवसाय सञ्चालनको हकमा भने अग्रपङ्क्ति काउन्टरमा काम गर्नेले हप्ताको २ पटक एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । लामो दुरीमा यात्रा गर्ने यात्रुहरुको हकमा सकेसम्म एन्टिजेन परीक्षण गराउने, बाटोमा यात्रु नचढाउने गरी यात्रुको विवरण डिसिसिएमसीलाई बुझाउनुपर्ने निर्णय भएको छ।
