राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन
मकवानपुर । राष्ट्रियसभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्य पदका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदैछ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार आज बागमतीसहित सात वटै प्रदेशमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनअन्तरगत बागमती प्रदेशबाट २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी पर्नेहरुमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल, नेकपा एकीकृत समाजवादी पार्टीकी गोमा तिमल्सिना, एमालेबाट गोपाल शाक्य, निरकुमारी कुँवर, दर्लामी, नेमकिपाका कृष्णबहादुर तामाङ र गीता काफ्ले रहेका छन् ।
बागमती प्रदेशमा निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिका वडा नम्वर –८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाहललाई मतदान केन्द्र तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार, मतदान कार्यक्रम बिहान ९ बजेदेखि ३ बजेसम्म संचालन हुनेछ । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेश अन्तरगत ११९ स्थानी तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी कुल २३८ जना र प्रदेशसभाका कुल ११० जना सदस्य गरी ३४८ मतदाता रहेका छन् ।
एक जना पालिका अध्यक्ष भने निलम्वनमा परेको कारण निर्वाचन प्रक्रियामा सहभागि हुन नपाउने जनाएको छ । हाल प्रदेशसभामा पनि १०९ जना सदस्यमात्रै रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
