विवाहको रथले किच्दा दुई जनाको मृत्यु
२०७८ माघ ११, मंगलवार १५:०९
बारा । बारामा विवाहको रथले किचेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार, रथ अचानक तीव्र गतिमा कुदेपछि रथ अगाडि रहेका मानिसहरुलाई किच्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
रथले किचेर अन्य १२ जना घाइते भएका छन् । स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयारी अवस्थामा रहेको वैवाहिक रथ अचानक अनियन्त्रित भएपछि रथ अगाडि रहेका दर्जनौँ व्यक्तिहरुलाई किचेको जनाइएको छ । घाइतेमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेका छन् । घाइतेहरुको उपचार कलैया अस्पतालमा भइरहेको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
