मोटरसाइकल लिएर भागेका कैदी पक्राउ
दाङ । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका परियारका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमावर्ति क्षेत्रबाट पक्राउ गरेको हो । कारागारका नाईकेसमेत रहेका यामराज भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरिए पनि कारागार विभागले अनुमति नदिएपछि पुस १६ गते नै छुटिसकेका छन् । छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी यामराजलाई प्रहरी जवान धनबहादुर चौधरीले पुस ८ गते दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए । तर, उनीहरू अस्पताल नगई होटलमा पुगेको र त्यहीबाट भागेका थिए । प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुई जना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो ।
