पठाओ राइडर अपहरित, दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ माघ ९, आईतवार १७:१७

काठमाडौं । कोटेश्वरबाट गएराति एक जना पठाओ राइडर अपहरित भएका छन् । शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ राइडरलाई धापाखेल पुर्याइ अपहरण लुटपाट गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर दुई व्यक्ति फरार भएका थिए । ‘आइतबार बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइडर काठमाडौंका २५ वर्षीय प्रविन राइलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए’ उनले भने ।

रातिबाट थालिएको अनुसन्धानका क्रममा पठाओ बुक लगेर लैजाने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राई रहेका छन् । आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चोरी भएको बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्वरको मोटरसाइकल र सँगै चोरी भएको मोबाइल पनि उनीहरुको साथबाट बरामद भएको छ ।