हेटौंडाका दुई युवक पर्सा प्रहरीको फन्दामा
पर्सा । हेटौंडाका दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ जिल्लाको वीरगंज महानगरपालिका–१६ रजयन्ती चोकबाट ४२ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट र ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौंडाका दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नाखसोती बस्ने २० वर्षीय लक्ष्मण घलान र सोही उपमहानगरपालिका–१३ बनस्पति बस्ने २१ वर्षीय राम सुनार रहेका छन् । भारत रक्सौलबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जनाइएको छ ।
