सिके राउतलाई ज्यान मार्ने धम्की
काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी कार्यकारिणी सदस्य एवम् भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन् । मन्त्री यादवले अर्कोे गौर घटना दोहोरिन सक्ने भन्दै राउतलाई ज्यान मार्ने धम्की दिएकी हुन् ।
उनले माघ ५ गते मधेसमा मनाइने बलिदानी दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा राउतलाई यस्तो धम्की दिएकी हुन् । उनले रौतहट ऐतिहासिक जिल्ला भएको भन्दै आफूहरुलाई भाटा नदेखाउन चेतावनीसमेत दिइन् । उनले भनिन्, ‘भाटा देखाउने प्रयास नगर्नुस्, यहाँ लाठी चलाउन अरुले पनि जानेका छन् ।’ बलिदानी दिवसको दिन आफूहरुले हिंसा नगर्न नचाहेको बताउँदै उनले सीके राउतलाई लक्षित गर्दै भनिन्, ‘तुफानसँग टक्राएमा तपाईको त्यही हालत हुनेछ जसरी गौरको राइस मिलमा भएको थियो ।’
त्यो इतिहास नदोहोर्याउन चेतावनी दिँदै मन्त्री यादवले भनिन्, ‘त्यस्तो गरिएमा घेराबन्दी गरेर तपाई (सीके राउत) लाई पनि मार्न सक्छन्, त्यसैले सतर्क रहनुस् ।’ उनले हिम्मत भए सिंहदरवार घेरेर देखाउन चुनौती पनि दिइन् । २०७३ चैत ७ गते गौरको राइसमिलको मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र माओवादीका कार्यकर्ताबीच झडप हुँदा माओवादीका २७ जना कार्यकर्ताको मृत्यु भएको थियो ।
