कोरोना परीक्षणको शुल्क घट्यो
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणको शुल्क घटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।
यस्तै, निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १ हजार ५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो । पछिल्लो २४ घण्टामा देशभरका ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा देशभरका कुल २३ हजार ४०९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ जना रहेका छन् ।
