‘सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन’

तु खबर संवाददाता
२०७८ पुष २९,बिहीबार १५:३२
file-photo

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले सो कुरा बताएका हुन् । उनले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए ।

सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिहाल्नु नपर्ने आत्तिनु नपर्ने उनको भनाई छ । मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे । मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी गराए ।