मकवानपुरमा एकैदिन थपिए ५८ जना संक्रमित, सबैभन्दा धेरै हेटौंडाका

तु खबर संवाददाता
२०७८ पुष २७, मंगलवार १६:१२
filr-photo

मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । जिल्लामा आज (मंगलबार) एकैदिन ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ९८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी थाहानगरपालिकाका एक जना र मनहरी गाउँपालिकाका २० जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ७ सय २ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ३० जना पुगेका छन् ।

यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १६७ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १९ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।