राष्ट्रियसभा निर्वाचन : बागमतीका उम्मेदवारलाई चुनाव चिन्ह
मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आइतबार प्रदेशबाट उम्मेदवारी दिएका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको हो । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उम्मेदवारको प्रतिनिधिहरुको रोहवरमा उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेका हुन् ।
उम्मेदवारहरुलाई सम्बन्धीत दल कै चुनाव चिन्ह प्रदान गरेको छ । कार्यालयले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेललाई ‘रुख’, नेकपा एकीकृत समाजवादी पार्टीकी गोमा तिमल्सिनालाई ‘कलम’ चिन्ह प्रदान गरेको छ । त्यस्तै एमालेबाट उम्मेदवार बनेका गोपाल शाक्य, निरकुमारी कुंवर, दर्लामीलाई ‘सुर्य’ चिन्ह दिएको छ । नेमकीपाका उम्मेदवार कृष्णबहादुर तामाङ र गिता काफ्लेलाई ‘मादल’ चिन्ह प्रदान गरेको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला र अन्य समुहतर्फबाट २ जना सदस्यहरुका लागि निर्वाचनको हुँदैछ । सो निर्वाचनमा सत्तारुढ गठबन्धन, एमाले र नेमकीपा बिच चुनावी प्रतिस्पर्धा हुँदैछ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाहललाई मतदान केन्द्र ताकिएको छ ।
मतदानको कार्यक्रम माघ १२ गते विहान ९ बजेदेखि ३ बजेसम्म संचालन हुने तालिका रहेको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख‚ उपप्रमुख, अध्यक्ष‚ उपाध्यक्ष र प्रदेशसभा सदस्यले मतदाता रहनेछन् । कुल ११९ स्थानी तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल २३८ जना र प्रदेशसभाका कुल ११० जना सदस्य गरी राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४८ मतदाता रहेका छन् ।
जसमध्ये एक पालिका अध्यक्ष कारवाहीमा परेकाले निलम्बित छन् । उनी मतदान प्रक्रियामा भाग लिन पाउने छैनन् । जसका कारण स्थानीय तहमा २३७ जना मतदाता कायम भएको छ । त्यस्तै, एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेशसभाका १०९ जना सदस्य मात्र मतदाता कायम रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ ।
