राप्रपाबाट अलग हुन सक्छु : कमल थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले आफु राप्रपाबाट अलग पनि हुनसक्ने धारणा सार्वजनिक गरेका छन् । थापाले सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफु कुनैदिन राप्रपाबाट अलग हुनसक्ने तर, राप्रपा नफुटाउने बताएका हुन् ।
उनले लेखेका छन् ‘विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र सिनोबोकेर हिंड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीति भन्दा माथी रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुदैन भन्दा मेरो खेदो खनि रहेकाछन् । हॅासो र उदेक लाग्छ । त्यो राजतन्त्र प्रतिको मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन ।
म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन। राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दा माथी बस्न नचाहने स्पष्ट संकेत मिलेको छ। मेरो समस्या र पिडा त्यही हो। यो प्रसंगलाई हारजीतसंग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता प्रति मेरो दया छ । तर, स्पष्ट होस् विचार मिलेन भने पार्टीबाट कुनैदिन नैतिक आधारमा म अलग हुनसक्छु तर, राप्रपा कदापि फुटाउने छैन ।’
