को हुन् गठबन्धनबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार बनेका पौडेल ?

तु खबर संवाददाता
२०७८ पुष २१,बुधबार १९:१९

मकवानपुर । २०१७ सालमा स्याङ्जामा जन्मिएका कृष्णप्रसाद पौडेल बागमती प्रदेशबाट सत्ता गढबन्धनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार बनेका छन् । उनले बुधबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा मनोनयन दर्ता गराएका हुन् । २०३६ सालबाट विद्यार्थी राजनीति सुरु गरेका पौडेल २०३८ सालमा काठमाडौँको पकनाजोलस्थित पिपल्स क्याम्पसको नेपाल विद्यार्थी संघ उपसभापति र २०३९ मा सचिव चुनिए । त्यतिबेला पौडेलले विद्यार्थीहरुको हकहितको लागि भएका थुप्रै आन्दोलनहरुको नेतृत्व गरे ।

त्यसपछि उनले शिक्षण पेशा सुरु गरे । लोकतन्त्र र समाजवादको मर्म राम्रोसंग बुझेका उनले शिक्षण पेशामा रहँदा पनि शिक्षकहरुको हकहितका मुद्धामा आवाज उठाइरहे । २०४७ सालमा शिक्षक संघको संस्थापक सदस्य हुँदै उनले २०५० सालमा संघको सभापतिको जिम्मेवारी सम्हाले ।

२०६० सालमा प्रजातान्त्रिक कांग्रेस शिक्षा समितिको सदस्य सचिव, महासमिति सदस्य हुँदै २०६१ सालमा उनी कांग्रेस स्याङ्जा जिल्ला समितिको सदस्य भए । जिल्ला सदस्य छँदा पार्टीको गतिविधिलाई सक्रियताका साथ अघि बढाउन डटेर लागेका उनले त्यतिबेला निकै लोकप्रियता बटुले । तीनै लोकप्रियताको आधारमा उनलाई २०७४ मा राष्ट्रियसभा सदस्य पदको लागि सिफारिस गरिएको थियो । तर, राजनीतिक फेरबदलका कारण उनले उक्त जिम्मेवारी सम्हाल्न भने पाएनन् । २०७८ मा पुनः पौडेल सत्ता गठबन्धनबाट ५ दलको तर्फबाट राष्ट्रियसभा सदस्य पदको उम्मेदवार बनेका हुन् ।

पौडेल लामो समय शिक्षण पेशामा रहे । उनी काठमाडौँको गोंगबुस्थित बिएस्टी कलेजको संस्थापक क्याम्पस प्रमुख हुन् । करिब २५ बर्ष शिक्षण पेशामा रहेका उनी कांग्रेस बृत्तमा शिक्षित नेताको रुपमा परिचित छन् । उनी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवसमेत हुन् । कांग्रेसको १३ औँ महाधिवेशनबाट उनले मुख्य सचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका छन् ।