राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धनविरुद्ध एमाले, अंकगणितमा गठबन्धन बलियो

तु खबर संवाददाता
२०७८ पुष २१,बुधबार ०९:२२
file-photo

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्तारुढ गठबन्धन बलियो देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिका रुपमा गठबन्धनमा आवद्ध दलका पक्षमा ११८ जना मतदाता छन् भने प्रदेशसभातर्फ ५९ जना छन् । जसमध्ये सत्तारुढ गठबन्धनको स्थानीय तहमा ११८ र प्रदेशसभा तर्फ ५९ जना मतदाता रहेका छन् । सत्तारुढ गठबन्धनको कुल मतदाता संख्या १७७ जना रहेको छ ।

यता प्रमुख प्रतिपक्षको कूल मतदाता संख्या १५८ जना रहेका छन् । जसमध्ये प्रदेशसभातर्फ ४३ र स्थानीय तहमा ११५ जना मतदाता छन् । बागमती प्रदेशबाट एमालेका उम्मेदवारलाई चुनाव जित्न १९ मत अपुग हुन्छ । यसअर्थ बागमती प्रदेशको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा गठबन्धनका उम्मेदवारले बाजी मार्ने देखिएको छ ।

त्यस्तै, प्रदेशसभामा २ र स्थानीय तहमा २ जना गरी ४ जना मतदाता रहेको नेमकिपाले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागीता जनाएको छ । उक्त निर्वाचनमा स्थानीय तहका पालिका अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् भने प्रदेश सांसद पनि मतदाता हुनेछन् । निर्वाचनमा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखको एक जना मतदाताको १८ मतभार गणना हुन्छ । प्रदेशसभा तर्फ भने एक सांसद बराबर ४८ मतभार गणना हुनेछ ।

स्थानीय तहमा नेपाली कांग्रेसको ६७ मत, माओवादी केन्द्रको ३४ मत र एकीकृत नेकपा समाजवादीको १७ मत छ भने प्रदेशसभातर्फ कांग्रेसको २२, माओवादीको २३, समाजवादीको १३ र जसपाको एक मत छ । यस निर्वाचनमा यी दलहरु गठबन्धनमा आवद्ध रहेका छन् ।
निर्वाचनमा स्थानीय तहतर्फ कांग्रेसको मतदाताको एक हजार २०६ मत गणना हुन्छ भने माओवादी केन्द्रको ६१२ मत र नेकपा एकीकृत समाजवादीको ३०६ मत गरी कुल २ हजार १२४ मतभार गणना हुनेछ । प्रदेशसभातर्फ काँग्रेसको १ हजार ५६, माओवादी केन्द्रको १ हजार १०४, नेकपा एकीकृत समाजवादीको ६२४ र जसपाको ४८ गरी कुल २ हजार ८३२ मतभार गणना हुनेछ । बागमती प्रदेशमा गठबन्धनभित्र स्थानीय तह र प्रदेशसभा सदस्य गरी कुल १७७ जना मतदाताबाट ४ हजार ९५६ मतभार गणना हुन्छ ।

यता प्रमुख प्रतिपक्ष दल एमालेको स्थानीय तहका ११५ जना मतदाता छन् भने प्रदेशसभातर्फ ४३ जना मतदाता छन् । एमालेसँग प्रदेशसभा र स्थानीय तहमा गरी कुल १५८ जना मतदाता छन् । स्थानीय तहबाट एमालेको २ हजार ७० र प्रदेशसभातर्फ २ हजार ६४ गरी कुल ४ हजार १३४ मतभार गणना हुनेछ । एमालेका सबै मतदाता मतदानमा सहभागी भएको अवस्थामा पनि जितका लागि पर्याप्त हुँदैन ।

बागमती प्रदेशका स्थानीय तहमध्ये २ वटा पालिकामा साना दलको नेतृत्व छ । प्रदेशको एक पालिकामा राप्रपाले नेतृत्व गरेको छ भने अर्को एक पालिकामा नेमकिपाको नेतृत्व छ । प्रदेशसभातर्फ साना दलको ७ मत छ । प्रदेशसभामा नेमकिपाको २, राप्रपाको २ र विवेकशील साझा पार्टीको ३ मत छ । बागमती प्रदेशमा साना दलसँग प्रदेशसभाका ७ जना र स्थानीय तहका ४ जना गरी कुल ११ जना मतदाता छन् ।
स्थानीय तहमा राप्रपा २ र नेमकिपाको २ गरी ४ जना मतदाता छन् जसको मतभार ७२ हुन्छ । प्रदेशसभा तर्फ राप्रपाको २ जना र नेमकिपाको २ जनाका ९६ का दरले १६२ मतभार छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा यी दुई दलको गरी कुल २६४ मतभार रहनेछ । प्रदेशसभामा ३ जना सांसद रहेको विवेकशील साझा पार्टीको १४४ मतभार छ ।

त्यसो त नेमकिपाले निर्वाचनमा एक्लै जाने निर्णयका साथ २ जना उम्मेदवार खडा गरिसकेको छ । निर्वाचनमा कसलाई सहयोग गर्ने भन्नेबारे राप्रपा र विवेकशील साझा पार्टीले ठोस निर्णय गर्न सकेका छैनन् । यी दुवै पार्टीको समर्थन एमालेले पाएको खण्डमासमेत उसले जित्ने सम्भावना रहँदैन ।

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशबाट गठबन्धनले कांग्रेसका कृष्णप्रसाद पौडेल र एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेदवारी दिएका छन् । एमालेबाट भने गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामी उम्मेदवार छन् । कृष्णबहादुर तामाङ र गीता काफ्लेले नेमकिपाबाट उम्मेदवारी दिएका छन् । आगामी माघ १२ गते निर्वाचन अन्तरगतको मतदानको कार्यक्रम तय भएको छ । मतदानका लागि हेटौंडा औद्योगिक क्षेत्रको सभाहललाई मतदान केन्द्र तोकिएको छ ।