फाइजर खोपका लागि साढे ६ लाख बढी सिरिन्ज नेपाल आइपुग्यो
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । मंगलबार ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागका अनुसार, उक्त सिरिज कतार एयरलाइन्सको नियमित उडानमार्फत आइपुगेको हो । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरासियाले फाइजर खोपमा प्रयोग हुने ०.३ एमएलको सिरिन्ज आएको जानकारी दिए । सिरिन्ज अभावकै कारण काठमाडौं उपत्यकासहित ८ जिल्ला बालबालिकालाई १३ पुसदेखि दिने भनिएको खोप अभियान प्रभावित भएको थियो ।
फाइजर खोपमा प्रयोग हुने सिरिन्ज आइपुगेपनि काठमाडौं उपत्यकाका तीन जिल्लाका बालबालिकालाई मात्रै फाइजर खोप दिइने भएको छ । थप फाइजर खोप आउने सुनिश्चितता नभएका कारण काठमाडौं, भक्तपुर र ललितपुरका १२ देखि १७ बर्षसम्मका बालबालिकालाई मात्रै यो खोप दिइने परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णले जानकारी दिए । २÷३ दिनभित्रै यी तीन जिल्लाका बालबालिका लागि फाइजर खोप दिइने उनले बताए ।
उनका अनुसार फाइजर खोपको दोस्रो डोज सुनिश्चिता गरेर काठमाडौं उपत्यकाका बालबालिकालाई मात्रै फाइजर खोप दिन लागिएको हो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्लासहित काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका बालबालिकालाई पुस १३ गतेदेखि नै फाइजर खोप दिने निर्णय गरेको थियो ।
