राष्ट्रियसभा सदस्य निर्वाचन : बागमतीबाट ६ जनाको उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७८ पुष २०, मंगलवार १६:२३
file-photo

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ १२ गते हुने निर्वाचनका लागि महिलातर्फ ३ जना र अन्यतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउनेमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेमकीपाबाट २/२ जना रहेका छन् । उनीहरुले मंगलबार हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले र नेमकीपा एक्ला/एक्लै चुनावी मैदानमा उत्रिने भएको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल (काठमाडौं) ले उम्मेदवारी दर्ता गराएका छन् भने महिलातर्फको एक सदस्यका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट मकवानपुरकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै, निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेबाट गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर दर्लामी (सिन्धुलीकी) ले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, निर्वाचनका लागि नेमकिपाबाट कृष्ण बहादुर तामाङ र महिलातर्फ भक्तपुरकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उनीहरुको उम्मेदवारी दर्ता गराएको बागमती प्रदेशका राष्ट्रियसभा निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताए ।

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछन् । रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि निर्वाचन हुन लागेको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता गराएका उम्मेदवारहरुको भोली २१ गते दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ ।

पुस २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम हुनेछ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ भने माघ १२ गते विहान ९ बजे देखि ३ बजेसम्म मतदान कार्यक्रम संचालन हुनेछ ।

मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ । निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभा सदस्यसहित प्रदेशबाट ३४६ मतदाता रहेका छन् । जसमा १०९ जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष रहेका छन् ।