कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा सदस्यको उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी टुंगो लगाएको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । सोमबार बिहानै बसेको गठबन्धनको बैठकले कांग्रेसलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिन ६ सिट तोकिएको थियो ।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रको उम्मेदवार रहने जनाइएको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद विदा हुँदैछन् ।
एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनित एक जना सांसद विदा हुने क्रममा छन् । रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा निर्वाचन हुँदैछ ।
