वीपी विचार समाज मकवानपुरले मनायो राष्ट्रिय मेलमिलाप दिवस

तु खबर संवाददाता
२०७८ पुष १७, शनिबार १०:०७

मकवानपुर । वीपी विचार समाज मकवानपुरले शुक्रबार हेटौंडामा वैचारिक प्रवाह तथा बधाई शुभकामना आदानप्रदान गर्दै ४६ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले महामानव वीपीले लिएको समाजवाद मेलमिलापको सिद्धान्त वर्तमान अवस्थामा पनि अति सान्दर्भीक भएको बताइन् ।

उनले जनताको लागि कांग्रेसले माओवादीसंग मेलमिलापको नीति अवलम्वन गरेर देशमा शान्ति प्रक्रियामार्फत् द्वन्द्वको अन्त्य गरेको स्मरण गरिन् । कांग्रेसले राष्ट्रियताको लागि मेलमिलापको नीति लिएको भन्दै अब जनताको हितको लािग समृद्धिको अभियानसमेत अघि बढाउने उनले बताइन् ।

कार्यक्रममा वीपी विचार समाजका सल्लाहकार एवम् वौद्धिक व्यक्तित्व कृष्ण प्रसाद दाहालले विपीको विचारबारे चर्चा गरेका थिए भने नेपाली कांग्रेसका कार्यबाहक सभापति विष्णु लामिछानेले वीपीले लिएको राष्ट्रिय मेलमिलापको सिद्धान्तबारे चर्चा गरेका थिए । सोही अवसरमा कांग्रेस सह–महामन्त्री डीनालाई समाजको तर्फबाट सम्मान गरिएको थियो । समाजका कार्यबाहक अध्यक्ष प्रदिप कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रमलाई समाजका सचिव हरिप्रसाद पौडेलले सहजिकरण गरेका थिए ।