हेटौंडाको पुण्यक्षेत्र : हिडिम्बिका र मतंग ऋषिको सन्दर्भ !

सञ्जय साह मित्र
२०७८ पुष १७,शनिबार ०९:५३

पुराणमा दुई मतंग ऋषि भएको उल्लेख पाइन्छ । प्रथम मतंग ऋषि रामायणका हुन् । उनी शबरीका गुरु हुन् । शबरी त्यही पात्र हुन् जसको आश्रममा राम र लक्ष्मण पुगेका थिए सीतालाई खोज्दै । राम एक दिन मार्ग खोज्दै आउँछन् र बाटो देखाउनू भनेर मतंगले शिष्या शबरीलाई भनेका हुन्छन् । शबरीले जूठो बयर रामलाई खुवाएको चर्चित प्रसंग पाइन्छ ।

द्वितीय मतंग ऋषि महाभारतकालका हुन् । द्वितीय मतंग ऋषिको भूमिका धेरै उल्लेख भएको पाइन्न । तर पुराणका उपजीव्य सन्दर्भहरुमा हिडिम्बिकासित सम्बन्ध जोडिन आइपुग्छ । भीमफेदीको सम्बन्ध महाभारतसित छ । हेटौंडाको सम्बन्ध महाभारतसित छ । हेटौंडा नजिकको पुण्यक्षेत्रको सम्बन्ध पनि महाभारतसित छ । पुण्यक्षेत्र निकै मनोरमस्थल हो । सहिद स्मारकभन्दा करिब दुई किलोमिटर उत्तरमा पहाडको फेंदीमा रहेको पुण्यक्षेत्रलाई सम्भवतः २०३२ सालतिर आसपासका मानिसले चिन्न थालेका हुन् । जब यहाँ ठूलो महायज्ञ भएको थियो । तर, यस ठाउँको सम्बन्ध मतंग र हिडिम्बिकासित छ ।

देवघाट र आसपासको क्षेत्र देव, ऋषि र आर्यहरुको बाक्लो उपस्थितियुक्त थियो महाभारतसम्म । सदानिरासँग जोडिएको नदीको किनारै किनार कहिलेकाहीँ ऋषिहरु एकान्तको खोजीमा कताकता पुग्दथे । मतंग ऋषि पनि एकान्तवासको खोजीमा नदी र खोलाको किनारै किनार अहिलेको पुण्यक्षेत्रमा आइपुगेका थिए । भीमसेन र हिडिम्बाकाबीच संयोग हुनुअघि केही अघिसम्म मतंग ऋषि यहाँ तपस्या गर्ने गरेको हिडिम्बिकाले नै भीमसेनलाई बताएकी थिइन् । हिडिम्ब (हिडिम्बाको भाइ) लाई पनि यो ठाउँ मन परेको थियो । हिडिम्बा अर्थात् हिडिम्बिकालाई त यो ठाउँ भीमफेदीभन्दा धेरै मन पर्दथ्यो । लुक्ने सानो गुफा, बाह्रै शीतल जल प्राप्त भइरहने रमणीयस्थल, आखेट (मृग, बनेल, ब्याघ्र) आदिको कहिल्यै कमी नहुने र कहिलेकाहीँ मानवमांस पनि भक्षण गर्न पाइने । यद्यपि हिडिम्बालाई मानवमांस खासै मन पर्दैनथ्यो तर, भाइलाई भने निकै स्वादिलो लाग्दथ्यो ।

हिडिम्बालाई राम्ररी थाहा थियो – झरनासँगैको शिलामा मतंगले लामो समय निराहार तप गरेका थिए । झरनाको जलको छिटा उसको जीउमा परिरहेको हुन्थ्यो । निर्बिघ्न तपस्या गर्नुमा हिडिम्बाको पनि सहयोग थियो । सहयोग कुन अर्थमा भने हिडिम्बिकाले मतंगको बारेमा भाइलाई बताएकी थिइन । जलप्रपात भइरहँदा ऋषिको शरीरबाट मानवगन्ध निस्केको हिडिम्बले थाहा पाएकै थिएन । हिडिम्बलाई आगो र पानीदेखि निकै डर लाग्थ्यो । पानीदेखि जतिसुकै डर लाग्ने भए पनि मानवमांस भक्षण गर्न पाउने आशा भएपछि जस्तोसुकै कठिन कार्य गर्न पछि पर्दैनथ्यो । एउटा भोकाएको ब्याघ्रले हस्तिलाई आक्रमण गर्न पछि नपरेजस्तै हिडिम्ब मानवमांस भक्षण गर्ने सम्भावनामा अग्नि या जल जेमा पनि प्रवेश गर्न सक्थ्यो तर, रक्षिका बनिरही हिडिम्बा ।

हिडिम्बिका र भीमसेनको संयोगले घटोत्कचको जन्म भएको थियो । घटोत्कच महाभारतका एक महान् वीर हुन् । नेपाली केटो घटोत्कचले एक्लै महाभारत जित्ने क्षमता राख्दथ्यो । हिडिम्बिकालाई मन पर्ने मतंगभूमि आजभोलि पुण्यक्षेत्र भएको छ । आन्तरिक पर्यटकरु पुगिरहने ठाउँ भए पनि सहिद स्मारकमा एउटा बोर्ड वा मार्गप्रदर्शक मार्गचित्र नराखिँदा, यसको बारेमा प्रचारप्रसार नहुँदा महात्मा महानन्दसमेतले तपस्या गरेको, हेटौंडाको प्राचीन यज्ञभूमि, तपोभूमि ओझेलमा परेको छ । अहिले पनि यो ठाउँ रमणीय छ । सुन्दर छ । शान्त छ । मनाकर्षक छ । पुग्दैमा चित्त शान्त होला जस्तो छ । अभ्यन्तरमा शान्त ऊर्जा प्रकाशित हुन्छ ।

अभ्यागतलाई शीतल पवनले न्यानो स्वागत गर्न केही गरौं भन्ने प्रेरणा भर्न सक्षम यो स्थल आनन्दभूमि लाग्दछ । तिर्खालाई मात्र होइन मनलाई तृप्ति दिने यहाँको सुशीतल जलले अभ्यागतलाई साँच्चै गज्जबको स्वाद र आनन्द दिन्छ । शरीरलाई शीतलता दिने यहाँको पवनमा स्नानको जादू छ । रुखको पात नहल्लीइकन जब शरीरमा शीतल पवनले स्पर्श गर्दछ तब यहाँ सबै थकान छुमन्तर भएको अनुभूति हुन्छ ।पुण्यक्षेत्र यज्ञभूमिमा रहेका अहिलेको वातावरणले पनि एकातिर प्राचीनताको सुगन्ध दिन्छ भने अर्कोतिर प्राकृतिक रमणीयताले वातावरणको महत्व दर्शाउँछ । दूरदृष्टि भएकाहरुले यसले आफ्नो बिर्सिएको इतिहासलाई र इतिहासमा रुचि हुनेहरुलाई आफ्नो प्राग इतिहासलाई उत्खनन गर्न नबोलिकनै भनिरहेको हुन्छ ।

सहिद स्मारकबाट सिधा उत्तरतिर जाने ढलानको पक्की सडकले अन्यत्र होइन, त्यहीँ पुर्याउछ । सुन्दर, सुरम्य र रमणीय पथले प्राकृतिक गन्तव्यसम्म पु¥याउँछ । सहिद स्मारकभन्दा निकै पुरानो यो ठाउँले अहिले आफ्नो परिचय र पहिचानको खोजी त गरिरहेको छ तर यो ठाउँ अहिले पनि यस्तो ठाउँ हो जहाँ गर्मी र कोलाहलबाट आक्रान्त हेटौंडाको मनलाई जहिले पनि शीतल ऊर्जा र शान्ति प्रदान गर्दछ । यहाँ पुगेपछि लाग्दछ कि जीवनलाई कृत्रिमताभन्दा प्राकृतिकपन कति प्यारो हुन्छ । यहाँ भेटिनेहरुलाई यस ठाउँको बारेमा खासै थाहा नहुँदोरहेछ । आफैँसित बिरानो बन्दै गएको यस ठाउँको वर्तमान स्वरुपको भन्दा विगत र आन्तरिक सौन्दर्यको उद्धार हुनुपर्ने आवश्यकता औल्याउन सकिन्छ । यससित कोही परिचित यहाँ पुग्दा मनमा यस्तै सौन्दर्यानुभूति हुन्छ कि जीर्ण भइसकेको इतिहासको उद्धार वर्तमानले नगरे भविष्यमा इतिहास अन्धकार हुने सम्भावना छ । हेटौंडाको यो ठाउँ साँच्चै हार्दिक छ, प्रिय छ र एकचोटि नपुगी नहुने छ ।