कांग्रेस चितवनको सभापतिका लागि ६ जना चुनावी मैदानमा उत्रने
चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रने भएका छन । सभापतिका लागि जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्राडा सूर्यकान्त घिमिरेले चुनावी मैदानमा उत्रने भएका हुन् ।
कांग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् । जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०६ क्षेत्रीय प्रतिनिधि छन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार क्रियाशील सदस्यको आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । उनका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ ।
जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उनले जानकारी दिए । जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ । यसअघि अधिवेशन हुने भनिए पनि विभिन्न कारण देखाउँदै निर्वाचन अधिकृतले राजीनामा दिएपछि निर्वाचन हुनसकेको थिएन ।
