थप २६४ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ पुष १३, मंगलवार १८:०३

काठमाडौं । नेपालमा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ । तीमध्ये मृत्‍यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ भने ८ लाख ११ हजार २६५ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २६० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० जना रहेका छन् । जसमध्ये ४ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने २४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जना कोरोना संक्रमित थपिएका छन् ।