आजदेखि प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक
काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म संचालन हुने उक्त बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।
प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाएर रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । अध्यक्ष बस्नेतका अनुसार बैठकले राष्ट्रिय महाधिवेशनको मिति ताक्नुको साथै प्रदेश र जिल्ला अधिवेशनको मिति पनि निर्धारण गर्नेछ । चौतारीले आगामी फागुनभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्ययोजनासहित काम अगाडि बढाएको अध्यक्ष बस्नेतले बताए ।
बैठकको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अपरान्ह ३ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा प्रचार विभाग उपप्रमुख विष्णु रिजालको पनि उपस्थिति रहने छ । केन्द्रीय कमिटी बैठकमा देशभरबाट केन्द्रीय कमिटी सदस्य तथा अतिथीहरुसहित तीनसय बढीको सहभागिता रहनेछन् ।
