थप २६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
काठमाडौं । नेपालमा थप २६० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ९८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार, सो अवघिमा ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार १६ पुगेको छ । तीमध्ये हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ भने ८ लाख १० हजार २७१ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ३४९ जना संक्रमणमुक्त भएका छन् भन् थप एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेका छन् । जसमध्ये ४ हजार ८१७ जना होम आइसोलेसनमा रहेका छन् भने २३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २९ जना कोरोना संक्रमित थपिएका छन् ।
