प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

तु खबर संवाददाता
२०७८ पुष ९, शुक्रबार ०९:०९

दाङ । दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकि सजाय भुक्तान गरिरहेका एक कैदी फरार भएका छन् । जिल्लाको घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट प्रहरीकै मोटरसाइकल चढेर फरार भएका हुन् । घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएका छन् ।

परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशंका छ । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए । चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेर अनुसन्धान अनुसन्धान गर्नुका साथै फरार भएका परियारको खोजी भइरहेको एसी काफ्लेले बताए ।