बागमती प्रदेशसभा बैठक : मुख्यमन्त्री पाण्डेले आज संसदमा जवाफ दिने

तु खबर संवाददाता
२०७८ पुष ८, बिहीबार ०८:२९
file-photo

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज (बिहीबार) पनि बस्दैछ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदमा एमालेले लगाएको आरोपको खण्डन गर्दै जवाफ दिने कार्यक्रम रहेको सरकारका प्रवक्ता कृष्ण कृष्ण खनालले जानकारी दिए । बुधबार बसेको प्रदेशसभा बेठकमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको तर्फबाट वर्तमान सरकारले पूर्व रोक्ने, बजेट रोक्नेजस्ता आरोपहरु लगाएका थिए ।

हालसम्म प्रदेश सरकारले पूर्व सरकारले गरेको कुनै पनि योजना खारेजी र नरोकेको सरकारका प्रवक्ता खनालले बताए । उनले उक्त योजनाहरु थप अध्ययन गर्न स्थगित गरेको जानकारी दिए । बुधबार साँझ मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकमा संसदमा जवाफ दिनेबारे छलफल भएको छ ।

मन्त्रिपरिषद् बैठकले दुई वटा निर्णयसमेत गरेको छ । बामगती प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयबाट मठमन्दिर निर्माण गर्ने कार्यक्रमका लागि विभिन्न स्थानमा १० करोड ६० लाख बजेट विनियोजन गरेको थियो । यसअघि पर्यटन पूर्वाधार कार्यालयबाट यसको लगानी हुने गरेकोमा अब ३० लाखभन्दा मुनिका योजना स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय भएको छ ।

यस्तै, पूर्वाधार विकासको ३ करोड रुपैयाँ रकम स्वास्थ्यमा ३० र शिक्षामा २० प्रतिशत बजेट लगानी गर्ने र पूर्वाधारको क्षेत्रमा ५० प्रतिशत खर्च गर्नेबारेमा योजना छनौटको म्याद थप भएको छ । बुधबारसम्म योजना छनौट गर्ने म्याद भएपनि आउँदा माघ ७ गतेसम्मका लागि म्याद थप गर्ने निर्णय मन्त्रिपरिषद् गरका प्रवक्ता खनालले बताए ।