दलहरु मुकदर्शक भएर बस्न मिल्दैन : बार अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरु मुकदर्शक भएर बस्न नमिल्ने बताएका छन् । सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा राजनीतिक दलहरु मुकदर्शक भएर बस्न नमिल्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष दलका नेता, सबैका संसदीय दलका नेताहरुलाई हामीले ‘१७ बुँदा दिइसकेका छौँ । उहाँहरुले यो विषयमा आफ्नो निर्णय गर्नुपर्दछ,’ उनले भने, ‘मुकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्नु हो, उहाँहरुको उद्देश्य त्यही हो भने भन्नुप¥यो। होइन भने न्यायपालिकालाई भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनको लागि उहाँहरुले पहल गर्नुपर्दछ ।’ प्रधानन्यायाधीशले आफू नाङ्गिएको कुरा स्वीकार गरिसकेको भन्दै उनले न्यायपालिकालाई नांगिन नदिन जबराले तत्काल राजीनामा दिनुपर्ने बताए ।
