प्रेस युनियनका महासचिव शिवाकोटी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी १४ औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले पहिलो प्रयासमै सफलता हासिल गरेका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिव शिवाकोटी पहिलो पटकको उम्मेदवारीमै केन्द्रीय सदस्य निर्वाचित हुन सफल भए ।
उनको जितले अब नीतिगत रुपमै प्रेसको महत्व कांग्रेसलाई महशुस हुने र प्रेस युनियनले प्रेस स्वतन्त्रताका लागि थप सशक्त भूमिका खेल्न सक्ने विश्वास लिइएको छ । उनले कांग्रेसको राजनीतिमा हात हाल्नुपूर्व पूर्णरुपले सम्हालेको पेशा पत्रकारिता हो । पत्रकारिता क्षेत्रमा चर्चित र सनसनीपूर्ण अनुहारमा उनी पर्छन् ।
उनले गरेका रिपोर्टिङबाट समाजमा ब्याप्त विकृति र विसंगति रोक्न गरेको प्रयास अतुलनीय छ। ठूलाठालुले गरेका गल्ती ढाकछोप गर्ने तीतो यथार्थ समाजमा ब्याप्त भइरहँदा उनले गरेको रिपोर्टिङबाट तत्कालीन सभामुख कृष्णबहादुर महराको पद गुमेको थियो । त्यस्तै एमालेका नेता गोकुल बास्कोटा संचार मन्त्री रहेका बेलामा शिवाकोटीले ७० करोड भ्रष्टाचारको काण्ड सार्वजनिक गरेपछि बास्कोटाले पनि पद छाड्नु परेको थियो । उनी पूर्णकालीन राजनीतिमा आएपछि पत्रकारिताको रिपोर्टिङबाट विश्राम लिने बताइसकेका छन् । हुन पनि पत्रकारले राजनीति गर्नुहुन्न भन्नेमा उनी सचेत छन् । दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर १४ औं महाधिवेशनमा सहभागी भएका थिए ।
